झापा । झापाको बिर्तामोड र मेचीनगरमा फेरि एक एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर ६ स्थित भट्टराई चोकमा डेरा गरी बस्ने ६६ वर्षीय पुरुषको गएराति ९ बजे मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई जेठ ९ गतेदेखि सोही अस्पतालमा राखेर उपचार गराइएको थियो । सोही दिन बिहान काँकरभिट्टामा उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए ।
पथरी ५ स्थित जनता टोल निवासी उनको पार्थिव शरीर उतै लगिएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
यसैगरी, बिर्तामोडका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड १ निवासी बस्नेत थरका ७८ वर्षिय बृद्ध रहेका छन् ।
उनको उपचारका क्रममा हिजो बेलुका ७ बजे बिर्तासिटी हस्पिटलमा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए ।