अर्जुनधारा । प्रमुख प्रशासकीय अधिकृत नहुँदा अर्जुनधारा नगरपालिकाको कामकाज प्रभावित भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधनपछि अर्को प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरपालिकाको कामकाज सहज रुपमा संचालन हुन नसकेको हो । अहिले शिक्षा शाखाका तोयानाथ रेग्मीले निमित्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनले सम्हालेको एक महिनाभन्दा बढी भइसक्यो । निमित्त अधिकृतले जिम्मेवारीपूर्वक कार्यभार सम्हाल्न नसक्दा कार्यालयको कामकाज संचालन गर्न अप्ठ्यारो परिरहेको एक कर्मचारीले बताए ।

कर्मचारी तथा सेवाग्राहीले अत्यावश्यक काम, योजनाका काम, सम्पन्न भइसकेकाका विकास निर्माणका फाइलहरु फर्काइँदा अन्य गर्नुपर्ने कामसमेत प्रभावित बनिरहेको कर्मचारीहरु बताउँछन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतले मनोमानी ढंगबाट कार्य सम्पादन गरेपछि विभिन्न शाखाका कर्मचारीले नगर प्रमुख हरिकुमार रानासमक्ष गुनासो समेत राख्ने गरेको पाइएको छ ।

यसैबीच, अर्जुनधारामा प्रदेश १ को सामाजिक विकास मन्त्रालयबाट अम्बिकाप्रसाद चौंलागाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउने चर्चा छ । गत साता नै आउने कुरा भएपनि उनी अझै आइपुगेका छैनन् ।