बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै कम संख्या हो ।
संक्रमितमध्ये सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाका १७ जना छन् । जसमा ८ जना महिला छन् । तर, आज नै अर्जुनधारा २ मा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित २६ जनाको तथ्यांक यसमा समावेश छैन ।
यसैगरी, बिर्तामोडका ९ महिलासहित १५ जना, दमकका ७ महिलासहित ९ जना, भद्रपुरका ५ महिलासहित ९ जना, मेचीनगरका २ महिलासहित ५ जना, हल्दिबारीका ४ महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापा गाउँपालिकामा ५ जना, बाह्रदशीमा ४ जना, बुद्धशान्ति, कचनकवलमा २ २ जना, कमल र शिवसताक्षीमा १ १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यो सँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ४ सय पुगेको छ भने आज १९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या अहिलेसम्मकै बढी हो । कुल डिस्चार्ज हुने ६ हजार ९४२ पुगेका छन् ।
हालसम्म झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२६ पुगेको छ ।