अर्जुनधारा/ जिल्लाको सीमा क्षेत्रमा श्रीकृष्ण भगवानको प्रतिमा राख्नका लागि झापाको अर्जुनधारा र इलामको माइ नगरपालिकाबीच सहमति भएको छ ।
अर्जुनधारा नगरपालिका वडा–२ र माई नगरपालिका वडा–५ को सिमा क्षेत्रमा रहेको कुम्मिटारको भित्तामा दुवै नगरपालिकाले साझेदारी समन्वय र सहकार्य गर्दै श्रीकृष्ण भगवानको प्रतिमा निर्माणको काम गर्ने भएका हुन् । त्यस क्षेत्रमा पर्यापर्यटन, स्थानीय मौलिक संस्कृतिको प्रवद्र्धन गर्न उदेश्यले सहमति भएको हो ।
श्रीकृष्ण भगवानको अवतार निर्माणका लागि स्थानीय दिलदास राई, जीतमान राई, रुद्रकुमार राई, मानध्वज राई, हस्तबहादुर राईको परिवारको तर्फबाट भित्ताको पश्चिम दक्षिण तर्फको आवश्यकता अनुसारको जमिन निशुल्क उपलब्ध गराउने सहमति भएको अर्जुनधरा नगरपालिका नगर प्रमुख हरि कुमार रानाले जानकारी दिए ।
सो परियोजना कार्यान्वयनका लागि पार्किङ्ग व्यवस्थापन र सार्वजनिक शौचालय खानेपानी निर्माणमा डेढ बिघा जमिन समेत उपलब्ध भइसकेको छ । पार्किङ्गका लागि पूर्वतर्फको जमिन प्रेम समाल, खेम समाल, रत्न समालले निशुल्क प्रदान गर्ने सहमति भएको नगर प्रमुख रानाले जानकारी दिए ।
जग्गादाताहरुको स्वर्गिय बुबा–आमाहरुको स्मृतिमा सो स्थानमा शालिक प्रतिमा निर्माण गर्ने समेत सहमति भएको अर्जुनधारा नगरका बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले जानकारी दिए ।
दहालटार सामुदायिक वनको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्जुनधारा वडा–२ वडा अध्यक्ष रघुनाथ खनाल, माईनगर–५ वडा अध्यक्ष गम्भीर बहादुर तामाङ, वडासदस्यहरु केशव कुमार राई, बलबहादुर समाल, ने.क.पा. जिल्ला सदस्य योग प्रसाद आचार्य, नेपाली काग्रेसका जिल्ला प्रतिनिधि पुण्य ओझा, संघीय समाजसवादीका नगर अध्यक्ष सृजलाल चौधरी, ने.क.पा.का प्रतिनिधि रुपनारायण समाल रहेका थिए ।
त्यस्तै, रा.प्रा.पा. नगर सचिव प्रेमबहादुर समाल, शान्ति युवा समूह उपाध्यक्ष लोकेन्द्र बिष्ट, सदस्य असोक समाल, क्लबका सल्लाकार सुजन दर्लामी, सदस्य सृजन मगर, सचिव राजकुमार मगर, दहालटार सामुदायिक वनका अध्यक्ष डिबी राई, सुपारी उपभोक्ता समितिका सचिव युवराज राई, सिमाना बस्ती अध्यक्ष जसबहादुर लिम्बु लगायत जग्गादाताहरुको उपस्थितीमा श्रीकृष्ण भगवानको प्रतिमा निर्माण गर्ने सहमति भएको बरिष्ट अधिकृत सेडाईले जानकारी दिए ।