बिर्तामोड । पछिल्लो समय झापामा कोरोना भाइरस संक्रमण हुने व्यक्तिभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार २०४ जना निको भए भने १७९ जनामा संक्रमण पुष्टि भयो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार यो सँगै झापामा कोरोनालाई जितेर घर फर्किनेको संख्या ७ हजार ४५३ पुगेको छ । हिजो मंगलबार १५६ र अस्ति सोमबार १५२ जनाले कोरोना जितेका थिए ।

पछिल्लो २४ घण्टामा १७९ जनामा संक्रमण पुष्टि हुँदा झापामा कुल संक्रमितको संख्या ११ हजार ९०३ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १३९ रहेको छ ।

बुधबार संक्रमण पुष्टि भएकामध्ये ८७ जना महिला छन् । संक्रमितमध्ये सबैभन्दा बढी दमकका २३ महिलासहित ३८ जना छन् । यस्तै, बिर्तामोडमा २१ महिलासहित ३४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्जुनधारा र बुद्धशान्तिमा २१ २१ जना, भद्रपुरमा १४ जना, शिवसताक्षी र कनकाईमा १० १० जना, बाह्रदशीमा ६ जना, गौरीगञ्जमा ५ जना, कमलमा ४ जना, कचनकवलमा ३ जना, मेचीनगरमा २ जना र पालिका नखुलेका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा झापामा ५ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमा ४ जना झापाका छन् भने एक जना धरानका हुन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिएन्डसी हस्पिटलमा धरानका ७३ वर्षीय पुरुषको निधन भएको हो । यसैगरी, बिएन्डसीमै बिर्तामोड ५ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यस्तै, हल्दिबारी ४ का ६४ वर्षीय पुरुषको मेची कोभिड अस्पतालमा, बुद्धशान्ति ३ का ३७ वर्षीय पुरुषको लाइफलाइन अस्पताल दमकमा र भद्रपुर ९ का ९७ वर्षीय बृद्धको होम आइशोलेसनमा मृत्यु भएको छ ।

यो सँगै झापाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८३ पुगेको छ ।