केशब चापागाईं,
शरणामती, (झापा)। भाटाले टिन चेपिएका ससाना घर । पानी परेर ओसिलो भएको भुइँ । घरमा भत्किन आँटेका टाटी । यो दृष्य हो, झापा गाउँपालिका ६ स्थित फूलगाछीमा रहेको सुकुम्बासी बस्तीको ।

जहाँ २३ घरपरिवार सुकुम्बासी बस्छन् । यहाँका अधिकांस परिवारको जीविकोपार्जन भनेको ज्याला मजदुरी मात्र हो। ज्याला मजदुरी पाए चुल्होमा आगो बल्छ, नभए चुल्होमा आगो बल्नसमेत कठिन हुन्छ ।

‘आफ्नो नाममा एक धुर पनि जमिन छैन’, फूलमणी हास्दाले भनिन्, ‘काम गरे खान पुग्छ, नत्र पुग्दैन।’ फूलमणीजस्तै अरु परिवारका पनि पीडा र समस्या समान छन् । काम गरे बालबच्चाको पेट भरिन्छ नत्र भोकै ।

अहिले मुलुक लगायत झापामा समेत कोरोना महामारीका कारण निषेधाज्ञा जारी छ । निषेधाज्ञाका बीच काम नपाएर भोको रहेका २३ घरपरिवारलाई बुधबार गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, वडाध्यक्ष हरिबहादुर बानियाँ, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतलाई साक्षी राखेर प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले खाद्यान्न बितरण गरेको छ।

खाद्यान्न वितरण कार्यक्रममा सुकुम्बासी बस्तीका मानिसहरु खाद्य सामग्री देखेपछि खुसी देखिन्थे । २३ घरपरिवारलाई प्रतिपरिवार २५ केजी जिरा मसिनो चामल, २ केजी दाल, २ केजी नुन, ५ थान साबुन, ५० थान मास्क र १ बोतल सेनिटाइजर वितरण गरिएको संस्थाका झापा सहजकर्ता छत्र पौडेलले बताए।

‘आँखा खराब छ केही देख्दिनँ, श्रीमती र म यो घरमा बस्छौँ’, सुकुम्बासी बस्तीका बृद्ध जुटु मुर्मुले भने, ‘खोइ कुन संस्थाले खान दिएर गयो, एकदम खुसी लाग्यो, अब भने केही दिन चुल्हो बल्छ।’

अर्का स्थानीय मानबहादुर राई ४ घरपरिवारलाई पाल्न धौ धौ पर्ने गरेको बताउँछन्। ‘बन्द छ, टाढा काममा जान पनि पाइएन’, उनी भन्छन्, ‘गाँसकै अभाव भएको बेला खाद्यान्न राहत दिएकोमा खुसी लाग्यो।’

पहिले यी २३ घरपरिवार रानी सामुदायिक वनको परिसरभित्र अव्यवस्थित रुपमा बसोबास गर्थे। ‘वनले २०७४ सालमा वनको दक्षिणी भागमा सारेको हो’, सामुदायिक वनका उपाध्यक्ष कमल गनगाईंले सुनाए ।