बिर्तामोड । झापामा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणभन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । लगातार चार दिनदेखि निकाे हुनेकाे संख्यामा बृद्धि भइरहेकाे हाे ।

स्वास्थ्य कार्यालय झापाको बिहीबारको रिपोर्टअनुसार पीसीआर र एन्टिजेन विधिबाट १०५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ४८ जना महिला छन् ।

तर, झापाका १०५ जनामा संक्रमण पुष्टि हुँदा २११ जनाले कोरोना जितेर घर फर्किएको तथ्यांकमा उल्लेख छ । यसैबीच, जिल्लामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे दरमा भने कमी भएकाे छैन ।

पछिल्लोपटक संक्रमितमध्ये भद्रपुरका ११ महिलासहित २६ जना, बिर्तामोडका १० महिलासहित २० जना, कचनकवलका ६ महिलासहित १२ जना, अर्जुनधाराका ९ महिलासहित ११ जना छन् ।

यस्तै, कनकाईका ३ महिलासहित ८ जना, शिवसताक्षीका ४ जना, झापा, बुद्धशान्ति र गौरीगञ्जका २-२ जना, गौरादह, हल्दिबारी र बाह्रदशीका १-१ जना तथा पालिका नखुलेका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संक्रमण पुष्टि भएसँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ९८० पुगेको छ । निको हुनेको संख्या ७ हजार ६६४ पुग्दा सक्रिय संक्रमितको संख्या चार हजार रहेको छ ।

पछिल्लो २४ घण्टामा झापाका ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन् । एक जना उर्लाबारी ३ की ५१ वर्षीया महिलाको बेलडाँगी कोभिड हस्पिटलमा निधन भएको हो ।

हल्दिबारी ५ का ७१ वर्षीय महिला र भद्रपुर ४ का पुरुषको मेची अस्पतालमा तथा अर्जुनधारा ७ का ३५ वर्षीय युवाको बिएन्डसी र भद्रपुर ३ का ८४ वर्षीय बृद्धको होम आइशोलेसनमा मृत्यु भएको छ ।

आज नै झापा अर्जुनधाराकी एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । अर्जुनधारा ८ की ७१ वर्षीया महिलाको मृत्युबारे स्वास्थ्य कार्यालयले तथ्यांक उपलब्ध गराएको छैन ।