झापा । अर्जुनधारा नगरपालिका १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनको पहलमा स्थानीयको निःशूल्क कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
वडाध्यक्ष गोम्देनको पहलमा आफ्नो वडासँगै छिमेकी वडा ९ र ११ का बासिन्दालाई लक्षित गरी शनिबार स्वाब संकलन गरिएको हो । नगरमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
पीसीआर परीक्षण गर्न पहुँच नपुगेका तथा संक्रमितहरुकै लागि पुनः परीक्षणका लागि वडा समिति र दाताहरुको संयुक्त सहयोगमा उक्त स्वाब संकलन शिविर सञ्चालन गरिएको वडाध्यक्ष गोम्देनले बताए ।
शिविर सञ्चालन गर्न कनकाई कोटीहोम पीसीआर प्रयोगशालाका इञ्चार्ज शान्तिराम पोखरेलबाट ५० हजार रुपैयाँ, कर्मसेन गोम्देनबाट २५ हजार रुपैयाँ, उमेश खतिवडाबाट १० हजार रुपैयाँ र रामसिंह सिटौलाबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ ।
९, १० र ११ वडासँगै स्वाब संकलन भइरहेको खबर पाएका अन्य वडाका बासिन्दासहित परीक्षण शिविरमा ११६ जनाको स्वाब संकलन गरिएको बताइएको छ ।
सोही शिविरमा पुस्कर खतिवडाले कोभिड संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने औषधि वितरण गर्नुका साथै अर्जुनधारा ७ का दुवै मिर्गौला खराब भइ हाल उपचाररत् राजेश सुन्दासलाई नगद १० हजार प्रदान गरेका थिए ।