अर्जुनधारा । झापा अर्जुनधारा १० का अध्यक्ष बलदेवसिंह गोम्देनको पहलमा गरिएको निःशूल्क पीसीआर परीक्षणका क्रममा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
१० नम्बर वडा कार्यालयमा आइतबार ११६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । ९, १० र ११ नम्बर वडाबासीलाई लक्षित गरी आयोजना गरिएको स्वाब संकलनमा ५, ७ र ८ नम्बरका सेवाग्राही पनि थिए ।
वडाध्यक्ष गोम्देनका अनुसार संक्रमितमध्ये ३२ जना १० नम्बर वडाका बासिन्दा रहेका छन् । जसमा १९ जना नयाँ संक्रमित फेला परेको हो । बाँकी १९ जना अन्य वडाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
पीसीआर परीक्षण गर्न पहुँच नपुगेका तथा संक्रमितहरुकै लागि पुनः परीक्षणका लागि वडा समिति र दाताहरुको संयुक्त सहयोगमा उक्त स्वाब संकलन शिविर सञ्चालन गरिएको थियो ।
शिविर सञ्चालन गर्न कनकाई कोटीहोम पीसीआर प्रयोगशालाका इञ्चार्ज शान्तिराम पोखरेलबाट ५० हजार रुपैयाँ, कर्मसेन गोम्देनबाट २५ हजार रुपैयाँ, उमेश खतिवडाबाट १० हजार रुपैयाँ र रामसिंह सिटौलाबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ ।