बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एन्टिजेनतर्फ १२७ र पीसीआरतर्फ १२७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाका ४७ जना रहेका छन् । जसमा २५ जना महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारापछि भद्रपुरमा १७ महिलासहित ३७ जना, दमकमा १२ जना, बुद्धशान्तिमा १५ जना, कमलमा १७ जना, बिर्तामोडमा १० जना र कचनकवलका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, शिवसताक्षी, बाह्रदशी, झापा, कनकाइ र गौरादहमा समान १-१ जना, मेचीनगर र हल्दिबारीमा २-२ जना तथा पालिका नखुुलेका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या १२ हजार ३६७ पुगेको छ भने सोमबार १५० जना डिस्चार्ज भएका छन् । यो सँगै संक्रमणलाई जित्नेको संख्या ९ हजार ६४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमणबाट २ व्यक्तिको निधन भएको छ । जसमा हल्दिबारी ४ का ३० वर्षीय पुरुषको बिएन्डसी हस्पिटलमा र अर्जुनधारा ८ का ९० वर्षीय बृद्धको बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो ।
यो सँगै झापामा कोरोना संक्रमणकै कारण निधन हुनेको संख्या ३०२ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।