काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धकमा धनकुटाका पत्रकार सिद्धराज राई नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ ।

धनकुटा, शहीदभूमि गाउँपालिका वडा नं ३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने न्यूज टाइम्स साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उनले पत्रकारिता गरेको अनुभव छ ।

उनले केन्द्रबाट निस्कने नेपाल समाचारपत्र राष्ट्रिय दैनिकहुँदै नागरिक दैनिकमा काम गरिसकेका छन् । नागरिक दैनिकमा जिल्ला ब्युरो रहेका उनी अहिले काठमाडौँबाट प्रकाशन हुने देखापढी डटकममा सम्पादकका रुपमा काम गरिरहेका छन् ।

आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत भइसकेका हुन् ।