बिर्तामोड । निषेधाज्ञाको समयमा बिर्तामोड नगरपालिकाले अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाएको भन्दै त्यस्ता ठेक्का खारेज गर्न स्थानीय जागरुक युवाहरुले आज विरोध प्रदर्शनसहित चर्को दवाव दिएका छन् ।

आफ्ना माग संबोधन नभए नगरसभा चल्न नदिनेगरी आन्दोलित भएका युवाहरुले नगरपालिका कार्यालयमा गएर जनप्रतिनिधि र कर्मचारीहरुलाई त्यस्तो दवाव दिएका हुन् । प्रदेश सांसद एकराज कार्की, नगर प्रमुख ध्रुवकुमार शिवाकोटी , उप प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसँग त्यस्ता ठेक्का तत्काल खारेज गर्न उनीहरुले सामूहिक माग गरेका थिए ।

निषेधाज्ञाको समयमा ठेक्का लगाइएका स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज गरिनुपर्ने उनीहरुको माग हो । विगत २० दिनदेखि त्यस मागलाई लिएर उनीहरु आन्दोलित छन् । नगरपालिकाले वास्ता नगरेपछि आजको सातौं नगरसभामै माग पेश गर्ने र संबोधन नभए नगरसभा चल्न नदिने उनीहरुको विरोध कार्यक्रम रहेको थियो ।

त्यसको जानकारी पाएर नगरपालिका परिसरमा बिहानैदेखि करीव सय जनाको सँख्यामा जनपद, सशस्त्र र नगर प्रहरी तैनाथ गरिएका थिए । नारा जुलुस गर्दै युवाहरु नगरपालिका प्रवेश गर्न खोज्दा गेटमा सुरक्षाकर्मीहरुले रोकेका थिए ।

युवाहरु नगरपालिका कार्यालयभित्र छिर्न खोज्ने र सुरक्षाकर्मीहरुले नदिने क्रम बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म चल्यो । हातमा कालो पट्टि बाँधेका युवाहरुले ‘नियोजित टेन्डर बहिष्कार गर, सूचना हाम्रो अधिकार नियोजित टेन्डर खारेज गर, नेतालाई बाल, जनताको आफ्नै ताल, हेर देशको बेहाल, उठ युवा’ जस्ता प्लेकार्डसहित नगर प्रमुख शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत दाहाल, बरिष्ठ कार्यक्रम अधिकृत देवराज कार्कीविरुद्ध मुर्दावादका नारा लगाएका थिए ।

लगातार र चर्को नारावाजीका बीच युवाहरुले बल प्रयोग गरी नगरपालिकामा प्रवेश गर्न खोजेपछि अन्ततःप्रतिनिधिमूलक रुपमा वार्ताका लागि प्रहरीले भित्र प्रवेश गर्न दिएको थियो । कपिल न्यौपानेको अगुवाईमा वार्ताका लागि गएका युवाहरुले नगर प्रमुखको कार्यकक्षमा निकै चर्काचर्की गरेका थिए ।

दुवै टेन्डरको छानबिन गर्न कार्यदल गठन भइसकेको भन्दै जिम्मेवार प्रमुखहरुले भ्रष्टाचार, अनियमितता भएको भए छानबिन गरेर टेन्डर खारेज गर्ने र दोषी कर्मचारीलाई कार्वाहीसमेत गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सांसद कार्कीले छानबिनको लागि कार्यदल बनिसकेकाले प्रक्रियासंगत नभए टेन्डर खारेज हुने आश्वस्त पारेका थिए । छलफलमा नगरपालिकाले गठन गरेको कार्यदलमा आन्दोलित युवाहरुका तर्फबाट दुईजनालाई समावेश गर्ने मौखिक सहमति भएको छ ।

आन्दोलित युवाहरुले सार्वजनिक सरोकार र महत्वका हरेक सूचनाको जानकारी सम्पूर्ण सामाजिक संजाल, सूचना पाटी, स्थानीय संचारमाध्यममार्फत गराउनुपर्ने माग पनि राखेका थिए ।

हिजो मात्र नगरपालिकाले कार्यदल बनाएको हो । स्थानीय युवाहरु आन्दोलित भएपछि छानबिनका लागि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख प्रसाईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । जसको सदस्यहरुमा वडा नं २ का वडाध्यक्ष नगेन्द्र संग्रौला र वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला रहेका छन् ।

हिजो साँझ बसेको नगरकार्यपालिकाको बैठकले स्थानीय स्तरबाट विरोध आएको ठेक्काको छानबिन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलले एक साताभित्र प्रतिवेदन बुझाउने छ । विज्ञको सहायताले ठेक्का प्रक्रिया नियमसंगत भए–नभएको छानबिन गरिने कार्यदलका सदस्य वडा नं २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए ।

‘टेन्डरमा हिनामिना भएको छ कि छैन हामी त्यो खोज्छौं’, उनले भने, ‘टेन्डर हाल्दा रकम तलमाथि भएको पाइएमा टेन्डर खारेज गर्न सिफारिस गर्छौ ।’ लामो समयसम्म नगर प्रमुखको कार्यकक्षमा चर्काचर्की परेपछि दिउँसो १ बजे शुरु हुने भनिएको सातौं नगरसभा दिउँसो २ बजेपछि मात्र संचालन भएको थियो ।

बिर्तामोड नगर अस्पतालमा बिमा बापतको औषधी पसलका लागि कालि माँ फार्मेसीलाई टेण्डर पारेपछि विवाद आएको हो । त्यसपछि बिर्तामोड नगरपालिकाको फोहोर ब्यवस्थापनको जिम्मा काठमाडौमा रहेको निराकार सरसफाई सेवा प्रालिलाई दिएपछि युवाहरु झनै आन्दोलित भएका हुन् ।