सुनसरी । सप्तकोसीमा पानीको बहाव प्रतिसकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हुँदा सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।

सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मान्निछ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा वर्षेनी त्रासमा वस्नु परेको स्थानीयको गुनासो छ ।

सप्तकोसीका बासिन्दालाई सुरक्षित बनाउन सप्तकोसीको नियमित तटबन्ध निर्माण र कोसी व्यारेजका सबै ढोका खुल्ला गर्न स्थानीयले माग गरेका छन् ।

सम्झौताअनुसार नेपाल र भारत मर्मत गर्ने काम दुबै पक्षले गरिरहेको भए पनि नेपालले भने अलि ध्यान दिएर यसको मर्मत र संरक्षण गर्ने काम गरे तटबन्धन बलियो हुने र तबन्धन बलियो भए स्थानीयले राहत महसुस गर्ने रविन घिमिरेले बताउनुभयो ।

२०२२ सालमा सप्तकोसीमा ब्यारेज बनेसंगै सुनसरी, उदयपुर र सप्तरीका करिव १० हजार सर्बसाधारणले घरखेत गुमाउनु परेको थियो । सप्तकोसीबाट विस्थापित भएकाहरु अहिले सुकुम्वासी भएर कष्टकर जिवन विताई रहेका छन् । कोसीले घरखेत बगाए पश्चात विस्थापित हुदा समेत हाल सम्म क्षतिपुर्ति नपाएको सप्तकोसी पीडितहरुको दुखेसो छ ।

‘जमिन सबै लग्यो, लम्बरी जग्गा लग्यो भारतले त्यही जग्गामा काम गरिरहेको छ’, सप्तकोसी पीडित पदमबहादुर सापकोटाले भन्नुभयो, ‘नेपाल सरकारले अहिलेसम्म हेरेको छैन ।’

लगातारको बर्षातका कारण सप्तकोसीमा पानीको बहाव बढेसंगै यस क्षेत्रका वासिन्दाको सुरक्षाको लागि सशस्त्र प्रहरीले तालिम प्राप्त गोताखोर सहितको उद्धार टोली तयारी अवस्थमा राखेको छ । सप्तकोसीको चतरा, हरिपुर र कोसी ब्यारेजमा तालिम प्राप्त सशस्त्र प्रहरी तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा आफु अनुकुल मात्र ब्यारेजका ढोका खोल्ने गरेका कारण नेपालीहरु त्रसित हुनु परेको स्थानियको गुनासो छ । सप्तकोसीमा आएको बाढिका कारण क्षति हुन नदिन त्यसक्षेत्रमा उद्धार सामाग्री सहित नेपाल, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना तयारी अबस्थामा राखिएको छ ।

स्थानीय प्रशासनले सप्तकोसीको स्थलगत निरीक्षण गरी यस क्षेत्रका वासिन्दालाई समेत सचेत गराई सकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । सप्तकोसीमा ब्यारेजका सबै ढोका नखोल्ने हो भने अझै पनि सप्तकोसी आसपासका वासिन्दा ढुक्कले बस्न सक्ने अवस्था छैन । इमेज खबरबाट