काठमाण्डौ । साउन १ गते अर्थात् भोलिदेखि लामो दूरीका सार्वजनिक गाडी जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ ।
यसबारे आज स्वास्थ्य मन्त्रालयसहित काठमाण्डौ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख र सम्बन्धित अन्य निकायको बैठक बस्दैछ ।
लामो दूरीका गाडी नचल्दा नागरिकले धेरै दुःख पाएको भन्दै जोरबिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
कामका लागि काठमाण्डौ आउनै पर्ने यात्रुहरुले तेब्बर, चौबर भाडा तिर्नु परेको गुनासो बढेपछि जोरबिजोर प्रणालीमा लामो दूरीका गाडी चलाउने तयारी थालिएको हो । यसबारे बेलुकासम्ममा निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।
यस्तै बजारमा भोलिदेखि निषेधाज्ञा कडा पार्ने हल्ला चलेको भन्दै उहाँले हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभएको छ । अहिले कोरोना सङ्क्रमण जोखिम नै रहेकाले साउन १ गतेदेखि कडा निषेधाज्ञा हुने हल्ला फैलिरहेको छ ।
तर, हल्ला फैलिए जस्तो कुनै पनि गतिविधि नहुने हुँदा किनमेलका लागि बजारमा भिडभाड नगर्न पनि उहाँको आग्रह छ । उज्यालो अनलाइनम यो समाचार छ ।