शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति उद्यानमा (सालबारी झिल)मा सीसी क्यामेरा जडान गरिनुका साथै करिब डेढ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण तथा घेराबारा गरिएको छ ।
गत आर्थिक वर्ष ०७७/०७८मा सम्पन्न गरिएको पूर्वाधार विकासको सोमबार सार्वजनिक सुनुवाई गर्दै जानकारी दिइएको हो । कार्यक्रममा इस्टिमेट योजनाभन्दा बढी काम गरिएकाले थप ५८ हजार ८९४ रुपैयाँ बढी खर्च भएको जनाकारी दिइयो ।
योजना कार्यान्वयनसम्बन्धी समुदायमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका महासचिव हर्कराज राईले जानकारी दिए ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव राईले काम सम्पन्न भएको पूर्वाधार विकासअन्तर्गतको प्रस्तावित योजनाको काम, बजेट तथा यथार्थ काम उल्लेख भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पचास लाख रुपैयाँसहित जम्मा ५६ लाख २१ हजार २३७ रुपैयाँको लागतमा चार वटा योजना सम्पन्न भएको उल्लेख गरिएको छ ।
त्यसैगरी काम सम्पन्न भएको योजनाहरुमा दुई लाख ३२ हजार ९६६ रुपैयाँको लागतमा २१.५ मिटर लामो पीसीसी ड्रेन निर्माण, आठ लाख ३५ हजार ७१० रुपैयाँको लागतमा अण्डरग्राउण्ड केबलिङसहित १२ वटा नयाँ सीसी क्यामेरा जडान, ३८ लाख ५८ हजार ९६० रुपैयाँको लागतमा १७८५ वर्ग मिटरमा ब्लक ओछ्याउने र छ लाख ९३ हजार ६०१ रुपैयाँको लागतमा ८५० मिटर फेन्सिङ गर्ने रहेको छ ।
कार्यक्रममा सहभागीहरु नगर सभा सदस्य मनोज तामाङ, प्रदिप चिमरीया, सुरेन्द्र गिरीलगायतले सुझाव पेश गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष टंकप्रसाद भट्टराईलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन व्यवस्थापक पूष्पलाल तिवारीले गरेका थिए ।