झापा । कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै मेचीनगर एक हप्ताका लागि सिल गर्न प्रस्ताव गरिएको छ ।

नगरपालिकामा सोमबार बसेको कोभिढ १९ संक्रमण नियन्त्रण समितिको बैठकले कम्तिमा एक हप्ता नगर सिल गर्ने प्रस्ताव गरेको कार्यवाहक नगर प्रमुख मीना उप्रेतीले जानकारी दिइन् । नगर कार्यपालिकासमक्ष वैठकको प्रस्तावलाई निणायार्थ प्रस्तुत गर्न समितिको वैठकले सिफारिस गरेको उनले बताइन् ।

उप्रेतीका अनुसार वैठकबाट प्राप्त सुझाव तथा प्रस्तावहरुलाई मंगलबार बस्ने कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय गर्नेछ । सो सम्बन्धि निर्णय गर्न मंगलबार १ बजे कार्यपालिकाको बैठक बस्दैछ ।

बैठकले नगरमा औषधिवाहेकका सबै सेवाहरु बन्द गर्न प्रस्ताव गरेको छ । जसमा खाद्य सामग्रीका पसलदेखि वित्तीय संस्थालगायत सबै पसल व्यवसाय बन्द गर्न प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिइन् ।

तर, विश्वविद्यालय तथा कक्षा ११ का परीक्षा भने सुचारु हुनेछन् । नगरमा मंगलबारबाट सुरु हुने खोप अभियानलाई भने प्रशासनको सहजीकरणमा प्रभावकारी ढंगमा सञ्चालन गर्दै लानेसमेत निर्णय भएको बताइएको छ ।