झापा । सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको भेरोसेल खोप आज झापा अर्जुनधारा नगरपालिकामा लगाइँदैछ ।

स्वास्थ्य शाखाले नगरको वडा वडामै खोप सेवा उपलब्ध गराउने भएको हो । सरकारले यसपटक ५५ वर्ष र सो उमेर समूहमाथिका नागरिकका लागि खोप उपलब्ध गराउने निर्णय गरेसँगै अर्जुनधाराले वडामै खोप लगाइदिन व्यवस्थापन गर्न खोप व्यवस्था गरेको हो ।

खोप व्यवस्थापन समितिको निर्णयअनुसार साउन १३ र १४ गते वडास्थित स्वास्थ्य चौकीमा खोप लगाइनेछ । यसपटक कोभिड १९ को जोखिममा रही काम गरिरहेका पेशागत कर्मचारीलाई पनि खोप लगाइने भएको छ ।

जसअनुसार साउन १५ र १६ गते खुदुनाबारी स्वास्थ्य चौकी, अर्जुनधारा स्वास्थ्य चौकी र शनिश्चरे अस्पतालमा विश्वविद्यालय, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक सवारीका चालक र सहचालकलाई खोप लगाइने भएको छ ।

यस्तै, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि खोपको व्यवस्था गरिएको छ । जसमा सरकारी, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, बैंक, वित्तीय संस्थाका कर्मचारी रहेका छन् ।

यसैगरी, खोप अनिवार्य गरेको देशमा वैदेशिक रोजगारीका सिलसिलामा जान लागेका व्यक्तिहरुलाई कागजात हेरी खोपको व्यवस्था गरिएको जनाइएको छ ।