विर्तामोड । जिल्ला कोभिड खोप व्यवस्थापन समितिले खोप काण्डका आरोपित आमेबहादुर खड्कालाई विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको फोकल पर्सनबाट निलम्बन गरेको छ ।

छानविन नटुङ्गिएसम्मका लागि खड्कालाई पदबाट निलम्बन गरिएको हो । छानविनमा कुनै प्रभाव नपरोस् भनेर आरोपीलाई निलम्बन गर्ने चलन छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बसेको समितिको बैठकले खड्कालाई छानविन नटुङ्गिएसम्म खोपसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउन विर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिवार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।

समितिले सो घटनाको यथार्थ छानविन गरी सात दिनभित्र प्रतिवेदन दिनुपर्ने निर्णय भएको छ ।

विर्तामोडको टाइमलेस होटलमा खोपसहित नगरका फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन भएको हो ।