बिर्तामोड । आज राति १२ बजेबाट झापा जिल्लाभर निषेधाज्ञा (सिल) हुँदैछ । सीसीएमसी झापाले जारी गरेको आदेशअनुसार निषेधाज्ञा अवधिभर सबै प्रकारका सवारीसाधनमा निषेध गरिएको छ ।

एक हप्ताका लागि सीसीएमसी झापाले जिल्ला सिल गर्ने बिहीबार नै निर्णय गरिसकेको छ । जिल्लामा कोरोना संक्रमण अनियन्त्रित भएपछि सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

सिल गरिएको अवधिभरका लागि औषधि, स्वास्थ्य सामग्री, ईन्धन बाहेकका अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने बताइएको छ । तरकारी, फलफूल, माछामासु विहान ६ बजेदेखि ८ बजेसम्म बिक्री गर्न पाइने सीसीएमसीले जनाएको छ ।

सिल भएको समयमा सबै व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको छ । अत्यावश्यक बाहेकले पसल खुला गरेमा कानुन बमोजिम कारवाही गरिने बताइएको छ ।

यस अवधिमा अनावश्यक हिँडडुल नगरी घरमै बस्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । अहिले सञ्चालन भइरहेका परीक्षाका लागि आवश्यक सहजीकरण गर्ने पनि निर्णय भएको छ ।