बिर्तामोड । झापाका राजनीतिक दलका प्रमुखहरुले कोरोनाविरुद्धको खोप लुकाउने बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्का र स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेलाई निलम्बन गर्न माग गरेका छन् ।
एक होटलमा कोरोनाविरुद्धको खोप लुकाएको घटनालाई लिएर आज बिर्तामोडमा बसेको झापाका पाँच राजनीतिक दलको बैठकले बिर्तामोड नगरपालिकाको खोप अनियमिततासम्बन्धी घटनाका दोषीलाई तत्काल सेवाबाट निलम्बन गरेर घटनाको अध्ययन अनुसन्धान र कारबाही गर्न माग गरेको हो ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका सचिव मणिकुमार राई, जनता समाजवादी पार्टीका झापा अध्यक्ष, दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष केशव ओझा, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त प्रेस विज्ञप्तिमा सर्वसाधारणले खोप लगाउन नपाउने तर होटलमा लुकाएर राखेको उक्त निन्दनीय ,अमानबीय र अक्षम्य घटनाप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरिएको हो ।
घटनाको सत्यतथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख घिमिरे र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको कोरोना फोकल पर्सन एवं खोप काण्डमा संलग्न आरोपी खड्कालाई निलम्बन गर्न विज्ञप्तिमार्फत जोडदार माग गरिएको हो ।
बिर्तामोडको होटल टाइमलेस पार्टी प्यालेसमा खोपसहित बिर्तामोड नगरपालिकाका फोकल पर्सन खड्का खोपसहित पक्राउ परेका थिए ।
यसैबीच, जिल्ला खोप व्यवस्थापन समितिले कोभिड फोकल पर्सन खड्कालाई निलम्बन गरी छानविन समितिसमेत गठन गरेको छ । शनिबार बसेको समितिको बैठकले खड्कालाई फोकल पर्सनको जिम्मेवारीबाट समेत मुक्त गरेको छ ।