बिर्तामोड । झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने युट्युबर, हाेटल सञ्चालक पक्राउ परेका छन् ।

एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की, अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरी परेपछि पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले जानकारी दिए ।

उनीहरुमाथि अभद्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी आर्चायले जानकारी दिए ।

त्यस्तै क्यामेरामेन भाष्कर श्रेष्ठ , टीकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलमाथि पनि उजुरी परेको छ । उनीहरुको खोजी भइरहेको छ ।