बिर्तामोड । स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको प्रथम अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषध्यक्षमा आयुष निरौला सर्वसम्मत भएका हुन् । तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी सदस्यमा चयन भएका छन् । समितिको आगामी बैठकले अन्य सदस्य टुङ्गो लगाउने निर्णय गर्ने बताइएको छ ।

संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरुलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णय समेत भएको छ ।

नवनिर्वाचित अध्यक्ष ढकालले झापामा पत्रकारका क्रियाशील संघसंगठनले अझै पनि स्वतन्त्र पत्रकारको अस्तित्व स्वीकार गर्न आनाकानी गरेको भन्दै स्वतन्त्र पत्रकारलाई पनि सम्मानजनक ब्यवहार गर्न माग गरे ।