उपचाररत राजु र सहयाेगी डा. श्रेष्ठकाे परिवार ।

झापा । बिर्तामोडका ब्लड क्यान्सर पीडित राजु चौधरीलाई एकै व्यक्तिले १५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सहयोगी भावनाको कदर गर्दै अहिले सामाजिक सञ्जालमा उनको प्रशंसासँगै चर्चा चुलिएको छ ।

चौधरी बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट हुन् । अहिले उनको काठमाडौँमा उपचार भइरहेको छ । चौधरीलाई दुवइमा बस्दै आएका डा. संदिप श्रेष्ठले १५ लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् ।

‘फर राजु चौधरी’ अभियानका सदस्य तथा ब्यान्डका गायक विशाल अग्रवालका अनुसार डा. श्रेष्ठ क्यान्सरपीडित सिओना श्रेष्ठका बुबा हुन् । कुनै बेला सानी छोरीको उपचारका लागि भौतारिएका डा. श्रेष्ठले आफ्नै समस्या सम्झेर सहयोग गर्न लागेको बताइएको छ ।

छोरी सिओनाको उपचारका क्रममा धेरै सांगीतिक व्यान्डहरुले आर्थिक सहयोग गरेको सम्झेर आफूले पनि सहयोग गर्न चाहेको डा. श्रेष्ठलाई उदृत गर्दै अग्रवालले न्यूज सञ्जाललाई बताए ।

उनका अनुसार उपचाररत चौधरीलाई आवश्यक परेको बेलामा उक्त रकम पठाइदिने डा. श्रेष्ठले बचन दिएका छन् । अहिले कोरोनाको महामारीका कारण रकम पठाउन समस्या रहेको भनाइ छ । चौधरी उपचाररत अस्पतालमा रहेका चिकित्सक पनि साथी भएकाले आफूले गर्ने सहयोग पूरा गर्न तत्पर रहेको डा. श्रेष्ठको भनाइ छ ।

चौधरीको दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको बेला स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो । त्यस अस्पालतले पनि काठमाडौं रेफर गरेपछि हाल उनको काठमाडौंमा उपचार भइरहेको छ ।

उनी हाल आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइन्छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकारले अपिल गरेका छन् ।

यस क्रममा २४ घण्टाभित्र अनुप्रष्ट ब्यान्डले २ लाख १७ हजार ८७४ रुपैयाँ सहयोग जुटाएको छ । सहयोग अपिलकै क्रममा व्यान्डका भोकलिस्ट निरान शाहीले उक्त रकम जुटाएका हुन् ।

यस्तै, विद्रोही रक स्टारका नामले चिनिएका द स्याडोज नेपालका गायक स्वप्निल शर्माले पनि उनलाई सहयोग गरिदिन याचना गरेका छन् । ‘हामी सबै एकजुट होऔं र उनलाई सहयोग गरौं,’ उनले लेखेका छन् ।

साथै, श्री ३ ब्यान्डका गायक तथा गितारिस्ट शरद श्रेष्ठले पनि उनलाई सहयोग गर्न फेसबुकमा पोस्ट गरेका छन् । यस्तै, एएसएम ब्यान्डका गायक अभिषेक शंकर मिश्राले पनि राजुलाई सहयोग गरिदिन सबैमाझ आग्रह गरेका छन् ।

चौधरी आवद्ध रेडियम ब्यान्डका विशालसँगै प्रकाश लिङदेन, राहुल शर्मा, विकास गिरी, रमेश चौधरी, जेनिथ प्रसाई र प्रज्ज्वल तिम्सिनालगायत सिंगो टिम नै सहयोग जुटाउन अहोरात्र खटिराखको छ ।

रेडियम व्यान्डका सदस्यहरुले सहयोगको अपिल गरेपछि बिर्तामोड ५ का किरण पौडेलले ५० हजार दिँदै सहयाेगकाे सुरुवात गरेका थिए । यस्तै, चारआलीका व्यवसायी फूर्वा लामाले जन्मदिनको अवसरमा ५० हजार दिने घोषणा गरेको अग्रवालले जानकारी दिए ।

सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंक बिर्तामोड झापाको शाखाको अकाउन्ट नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्नेछन् ।