झापा । लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीको बहाव बढेपछि कतै डुबान भएको छ भने कतै कटानले क्षति पु¥याएको छ ।
खासगरी दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा पुगेका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण झापा गाउँपालिका ५ पन्थापाडाका १२ घर डुबानमा परेका छन् । माथिबाट परेको वर्षाको अन्दाजी २ फिट पानी घरआँगनमा जमेको छ । जमेको पानी निकासको लागि सम्बन्धित निकायसँग समन्वय भईरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले उक्त स्थानमा प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको जानकारी दिए ।
त्यस्तै अबिरल बर्षाका कारण गौरीगञ्ज १ रंगियाथानस्थित माईखोलामा आएको बाढीले उक्त खोलामा लगाएको अन्दाजी ३५/४० मिटर बाँध भत्काएको छ । बाढी कटान गरी खेतमा आईपुग्न लागेको र पानीको बहाव अझै बढ्न गएमा नजिकै रहेको धान खेतीसँगै करीव ३ किलोमिटर दक्षिण महाभारा तथा कुन्जीबारी क्षेत्रमा रहेका ८०-९० घर डुबानको उच्च जोखिममा रहेका छन् ।
बाँध बाध्नेतर्फ स्थानीय निकायसंग समन्वय भईरहेको थापाले जानकारी दिए । बस्ती डुबानबाट जोगाउन बाँध बाँध्नका लागि प्रहरी चौकी महाभाराले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए।
अहिलेसम्म बाढीका कारण जिल्लामा कुनै मानवीय र भौतिक क्षति नभएको उनको भनाइ छ । घाग्रा खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका ५ स्थित पाण्डवपुर बस्ती जोखिममा रहेको छ ।
खोलामा आएको बाढीले अर्जुनधारा ५ मा तटीय क्षेत्र कटान गरिरहेको रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले जानकारी दिए । तटीय क्षेत्र यसरी नै कटान हुँदै गए त्यस क्षेत्रमा ठूलो क्षति हुन सक्ने स्थानीयको अनुमान छ । स्थानीय देवराज बुढाथोकीको घर छेउसम्म खोलाले कटान गरिरहेको बताइएको छ।