झापा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा फेरि एक महिलाको शव आज बिहान फेला परेको छ ।
शनिबारसाँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि निस्किएकी सावित्रा खड्का विश्वकर्माको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो ।
अर्जुनधाराकै खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो समयदेखि अर्जुनधारा ६ मा बसोबास गर्दै आएको स्थानीयले बताएका छन् । उनको शव आज बिहान ८ बजे फेला परेको थियो ।
शनिबार साँझ सामान्य घर झगडा भएपछि उनी बाहिर निस्किएको उनका श्रीमान नारायण विश्वकर्माले बताएका छन् । घरबाट निस्केपछि आफूले खोजी गर्दा पनि फेला नपारेको श्रीमान नारायणले बताएका छन् ।
स्थानीय सुजन च्याउ उद्योग नजिकै हातमा पैसा बोकेको अवस्थामा अन्दाजी ४० वर्षीया सावित्राको शव फेला परेको हो ।
घटनाबारे प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मृतकका श्रीमान नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवको पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।