काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको संसद्बाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा जाने बताएको छ ।

नेपालको चारदिने भ्रमण सकेर आइतबार बेलुकी स्वदेश फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा एमसीसी उपाध्यक्ष फातिमा सुमारले सम्झौता संसद्बाट अनुमोदन अत्यन्त जरुरी रहेको बताएकी हुन् ।

नेपाल र अमेरिकी सहयोग निकाय एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा ऊर्जा र सडक पूर्वाधार विकासका लागि पाँच सय मिलियन अमेरिकी डलरको सम्झौता भएको थियो । तर, नेपालमा सत्ता गठबन्धन र प्रतिपक्षी दलमा फरक–फरक धारणा आएपछि सम्झौता संसद्बाट अनुमोदन भएर कार्यान्वयनमा जानेबारे प्रश्न उठेको छ ।

सम्झौताबारे प्रश्न उठेपछि नेपाल सरकारले अर्थ मन्त्रालयमार्फत एमसीसी मुख्यालयलाई ११ प्रश्न पठाएको थियो । ती प्रश्नको जवाफ पठाएलगत्तै एमसीसीबारे थप प्रस्ट पार्न नेपाल आएको सुमारले बताइन् । ‘यहाँ रहँदा भेटवार्ताका दौरान एमसीसी सम्झौताका बारेमा उठेका प्रश्नको जवाफ दिएँ । साथै, यसलाई लिएर अन्य केही प्रश्न छन् भने प्रस्ट्याउनेछु पनि भनें,’ उनले भनिन् ।

उनले नेपालका राजनीतिक दलका शीर्ष नेतालाई यो सम्झौता कार्यान्वयन गर्नु नेपालकै हितमा रहेको भन्दै स्पष्ट पार्ने कोसिस गरेकी थिइन् । सुमारले अमेरिकाले एमसीसी सम्झौताका सम्बन्धमा विगत १० वर्षमा नेपालका आठवटा सरकार र सम्पूर्ण राजनीतिक दलसँग सहकार्य गरेको र यसलाई लिएर सबै सरकार र राजनीतिक दल सकारात्मक रहेको पनि प्रस्ट पारिन् ।

उनले सम्झौता नेपालले कहिलेसम्म अनुमोदन गर्नुपर्छ भन्ने सीमारेखा आफ्नोतर्फबाट नकोरिएको बताइन् । ‘यो सम्झौता भएको चार वर्ष बितिसकेको छ, कार्यान्वयनमा जानुभन्दा अघिका प्रक्रियाअन्तर्गत अनुमोदन पनि हो । अनुमोदन नभएसम्म कार्यान्वयनमा जान मिल्दैन,’ उनले भनिन्, ‘कार्यान्वयनमा गएपछि काम सम्पन्न गर्न पाँच वर्ष लाग्नेछ ।’

सुमारले नेपालकै अनुरोधमा अमेरिकाले नेपाली जनताका लागि ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोग गरेको बताइन् । ‘नेपालको अर्थतन्त्रको विकास गर्न ऊर्जा र सडक पूर्वाधारमा खर्च गर्ने यो परियोजनाको रकम पूर्ण रूपमा अनुदान हो, यसमा कुनै पनि ऋणको चिन्ता हुन्न,’ उनले भनिन् । सुमारले आर्थिक सहयोगलाई राजनीतीकरण गर्न नहुने धारणा राखिन् ।

सुमारले सम्पूर्ण भेटवार्ताले आफू सम्झौता अघि बढ्नेमा आशावादी भएको बताइन् । उनले नेपाल र अमेरिकाबीच ७० वर्षदेखिको विशेष सम्बन्ध रहेको उल्लेख गर्दै एमसीसी सम्झौता पनि त्यसको एउटा पाटो रहेको बताइन् । उनले नेपाललाई अमेरिकाले सहयोग गरिरहने वाचा गरिन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।