झापा । कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा धेरै खुकुलाे बनाइएकाे छ । पछिल्लाे निर्णयले भीडभाडजन्य क्षेत्रमा मात्र राेक लगाउने छ ।
गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई विस्तारै विस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी)ले जिल्लामा निषेधाज्ञा खुकुलाे बनाउने निष्कर्षमा पुगेको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी बैठकले असोज १० गतेसम्म निषेधाज्ञालाई कायम राख्दै मेला, जात्रा र महोत्सव जस्ता भीडभाडजन्य सञ्चालन गर्न नपाउनेमा मात्र रोक लगाउने निर्णय गरेको छ । अन्य गतिविधिको हकमा सबै खुलाउने निर्णय गरेको छ ।
खाद्यान्न, फलफूल, तरकारी, बीउविजन, दुग्धजन्य पदार्थ, कपडा, हार्डवेयरलगायतका अन्य सबै प्रकारका पसलहरू बेलुका ८ बजेसम्म खुला गर्न पाउने निर्णय गरेको छ । होटल, रेस्टुरेन्ट, खाजा घरहरु बेलुका ६ देखि बेलुका ९ बजेसम्म खुला गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
बैठकले कोभिडले लामो समयदेखि बन्द रहेका सिनेमा हलहरू अल्टरनेट सिट खाली राखेर सञ्चालन गर्न पाउने, हाट बजार बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाउने, पार्टी प्यालेसहरूले तोकिएको क्षमताभन्दा ५० प्रतिशतसम्म ग्राहक भेला गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
यस्तै, शैक्षिक संस्थाका हकमा विद्यालयले भौतिक रुपमा पठनपाठन सञ्चालन गर्दा स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसमा स्थानीय तहले डीसीसीएमसीसँग समन्वय गरी सञ्चालन गर्न पाउने पनि निर्णय गरको छ ।
समितिले मेची बहुमुखी क्याम्पस सञ्चालन गर्ने र काँकडभिट्टा नाकाबाहेक अन्य सबै नाका बन्द राख्ने निर्णय गरेको छ । संक्रमणदर थपघट भएमा जुनसुकै बेला पुनरावलोकन गर्न सकिने निर्णय समेत गरिएको छ । संक्रमणदर शून्यको अवस्थामा आएमा आउँदो बैठकमा पूर्णरुपमा निषेधाज्ञा हटाउने सकिने जनाइएको छ ।