झापा । बालमैत्री नगर घोषणा भएको भद्रपुर नगरपालिकामा एक बालिकामाथि निर्घात कुटपिट गर्नेलाई कडाभन्दा कडा कार्वाहीको माग गरिएको छ ।
भद्रपुर नगरपालिका ५ निवासी १२ वर्षीया राजवंशी थरकी एक बालिकामाथि बालमैत्री नगरभित्रै हिंसात्मक घटना भएको हो । राष्ट्रिय बाल दिवस मनाइएको एक साताभित्रै ती बालिकालाई सुनसरी जिल्ला इनरुवा नगरपालिका ६ घर भएका अन्दाजी ३० वर्षीय अनिल पौडेलले हातमा खम्बामा बाँधेर अनुहार र शरीरभरि निलडाम हुने गरी निर्घात कुटपिट गरेका थिए ।
घटना असोज ४ गते सोमबार दिउँसो साढे १२ बजेको हो । बालिकामाथि कुटपिट गरेको दृश्य स्थानीयवासीले प्रत्यक्ष रुपमा देखेका थिए । पौडेल भद्रपुर ५ स्थित नयाँ बजारमा रहेको मेची बहुउद्देश्यीय कृषि फर्ममा रेखदेखका लागि काम गर्दै आइरहेका छन् ।
फर्ममा बाख्रा छिरेको निहुँमा पौडेलले ती बालिकामाथि निर्घात कुटपिट गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । कुटपिटमात्र नभइ तस्वीरमा वालिकाकाे हात प्लाष्टिकले बाँधिएकाे देखिन्छ ।
घटना भएलगतै परिवारका सदस्य वडा प्रहरी कार्यालय भद्रपुरमा निवेदन दिएका थिए । प्रहरीले घटनाको विषयमा जानकारी पाउनासाथ पौडेललाई घटनास्थलबाट पक्राउ गरी ल्याएको थियो । तर, कार्वाही नगरी छाडेको थियो ।
बालिकालाई उद्धार गरी मेची अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको थियो । नगर बाल सञ्जाल भद्रपुरले दोषी पौडेलमाथि कडाभन्दा कडा कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएको छ ।
सञ्जालकी अध्यक्ष आरध्या प्याकुरेल र सचिव राजेश मिश्रले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा सो उजुरी दर्ता गराएका छन् । सो उजुरीलाई प्रशासन कार्यालयले मुद्धा शाखामा दर्ता गरेर कानुनी कार्वाही अगाडि बढाएको छ ।
एक साताअघि मात्र प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर बालबालिकाको सर्वांङ्गीण विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक कार्य गर्दै आएको भन्दै ५७औं राष्ट्रिय बाल दिवसको अवसर पारेर प्रदेश सरकारले भद्रपुर नगरपालिकालाई सम्मान गरेको थियो ।