बिर्तामोड । झापाको गरामनी मेलामा आयोजित सन्थाल नृत्य प्रतियोगितामा बाह्रदशीको राजगढ टोली प्रथम भएको छ ।

प्रतियोगितामा सहभागी ७ वटा टोलीलाई उछिनेर राजगढले १० हजार नगद पुरस्कार जितेको हो । त्यस्तै कचनकवल ६ बनियानीको टोली दोस्रो भएको छ ।

उसले नगद ८ हजार जितेको छ भने तेस्रो स्थान हासिल गरेको कचनकवल ५ ले नगद ६ हजार पुरस्कार पाएको छ । त्यस्तै पाथीभरा नृत्य समूह हल्दिबारीले सान्त्वनास्वरुप ४ हजार र बिर्तामोड ७ को टोलीले नगद २ हजार पाएको छ ।

विजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गरामनी बजार व्यवस्थापन समितिका अध्यक्ष किशोर भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

सन्थाल समुदायका अग्रज बुधराई किस्कुको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जितलाल राजवंशी, धुनु सोरेनलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कृष्णबहादुर श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत अर्जुन उप्रेतीले गरेका थिए । कोरोना संक्रमणका कारण दुई वर्षपछि गरामनीमा यसवर्ष भव्यरुपमा दसैं मेला लागेको थियो । मेला भर्नेहरुको अत्यधिक भीड रहेको थियो । गरामनीको नवदुर्गा शक्तिपीठको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व रहेको छ ।

आफूले मागेको मनोकांक्षा पूरा हुने धार्मिक बिश्वासका साथ त्यहाँ भारतका भक्तालुसमेत दर्शनका लागि आउने गरेका छन् । बडादसैंको नवमीको दिन त्यहाँ महापूजा हुने गरेको छ भने एकादशीको दिन मेला लाग्ने गरेको छ । पूजा र मेलालाई व्यवस्थित पार्न रणबहादुर मगर र हरिभक्त बुढाथोकी अध्यक्ष रहेको ३५ सदस्यीय समिति गठन गरिएको थियो ।