पाँचथर । झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण लथालिङ्ग भएको छ । ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भएको छ ।
दसैँ मान्न आफन्तमा गएका तथा फर्किंदै गरेकाहरु बाटोमा अलपत्र भएका छन् । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देवीको दर्शन गर्न हिँडेका र फर्किएकाहरु पनि अलपत्र छन् । पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङलिङ जोड्ने मुख्य सडकको रुपमा मेची राजमार्ग रहेको छ । बैकल्पिक सडक पनि छैनन् ।
घर नभएका एकान्तको बाटामा यात्रुहरु अलपत्र देखिन्छन् । इलामको रक्सेमा ठुलो पहिरोले बाटो अवरुद्ध छ । तत्काल बाटो खुल्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार भोलि बेलुकासम्ममा मात्र बाटो खुल्ने सम्भावना रहेको छ ।
पाँचथरमा पर्ने राजमार्गको विभिन्न ठाँउमा पहिरो खसेको छ । जताततै पहिरो खसेकाले बाटो खुलाउन समस्या भएको छ । ठाँउ ठाँउमा सानो ठुलो पहिरो खसेको छ । राँकेदेखि फिदिम खण्ड राति अवेरसम्म खुलाउनका लागि प्रयास भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार फिदिम-ताप्लेजुङ सडक खण्ड खुल्नका लागि केहि दिन लाग्ने सम्भावना छ ।
पाँचथर पर्ने राँके फिदिम खण्ड खुलाउनका लागि चारवटा स्काइभेटर, नेपाली सेना, सशस्त्र प्रहरी खटिएको छ । सडक खुलाउने ठाँउमा रहेका प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार पहिरो भएका ठाँउमा एकातर्फ खुलाउने प्रयास भए पनि दर्जनौँ ठाँउमा पहिरो खसेकाले समस्या छ ।
पाँचथर-ताप्लेजुङ खण्डअन्तर्गत थापाटार नजिकै सडकनै बगाएको छ । जताततै पहिरो खसेका छ भने सडकमा लेदो र पानी बगिरहेको देखिन्छ ।
यात्रुहरु विभिन्न ठाँउमा रोकिएका छन् । मंगलबार रातिदेखि नै यात्रुहरु बीचबाटोमा रोकिएका हुन् । यसका साथै तमोर करिडर, मध्यपहाडी लोकमार्गका विभिन्न सडक पनि अवरुद्ध छन् ।