फिदिम । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ ।

 

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका ६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ।

 

मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगर समेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

यससँगै पाँचथरमा बाढीपहिरोमा परी कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बाढीपहिरोमा परी अझै तीन जना बेपत्ता छन् । उनीहरु सबै जिल्लाको मिक्लाजुङ गाउँपालिकाका हुन् ।

 

बेपत्ताको खोजीका लागि प्रहरीको तालिमप्राप्त कुकुर झिकाइएको छ । तालिमप्राप्त कुकुरसहितको टोली सोमबार मिक्लाजुङ ४ रबि आइपुगेको र आजदेखि खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।