खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर पार्कमा यलम्बरको मूर्ति निर्माणको काममा स्थानीयले अवरोध गरेका छन् । स्थानीयको परम्परागत समाधिस्थल मासेर एक सय फिट अग्लो यलम्बरको कृत्रिम शालिक राख्न खोजिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गौरवको आयोजना अन्तर्गत पर्ने उक्त योजना १० करोड २६ लाख ९६ हजार ६ सय २९ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । निर्माणको प्रारम्भिक चरणमै स्थानीयले अवरोध पुर्‍याएपछि यलम्बरको मूर्ति बन्ने-नबन्ने अन्योल भएको छ ।

 

ऐतिहासिक महत्वको ठाउँ भएकाले यसलाई संरक्षण गर्नुको सट्टा कृत्रिम यलम्बरको मूर्ति बनाउने नाममा पुरानो संरचना ध्वस्त पारिएकाले रोक्नु परेको स्थानीय डार्विन राईले बताए । ‘यलम्बरको कृत्रिम मूर्ति बनाउन हाम्रा पुर्खाहरूको समाधि ध्वस्त पारिएको छ,’ राईले भने ‘हामी ऐतिहासिक महत्व बोकेको ठाउँ ध्वस्त पार्न दिँदैनौं ।’

 

यस ठाउँ किराती संस्कृति अनुसार पित्रृ (खाली)मा जाने पुर्खाहरूको समाधिस्थल भएकाले यस्तो ठाउँलाई संरक्षण गर्नुपर्ने स्थानीय सन्तोष राईले बताए । ‘हामीले यलम्बरको मूर्ति बनाउन नै हुँदैन भनेको होइन, तर समाधिस्थललाई पनि सुरक्षित राखेर मूर्ति बनाइनुपर्छ भनेका हौं’उनले भने ।

 

स्थानीय दीपेन्द्र राईका अनुसार उक्त ठाउँ दश पुस्तादेखिको पुर्खाहरूको समाधिस्थल हो । स्थानीय तम्रुङ, गैरीगाउँ, खालिङटोल, डङ्खुरा, बीचगाउँ, बरबोट लगायत गाउँको संयुक्त समाधिस्थल भएकाले यसलाई जोगाउनुपर्ने स्थानीय बलिन्द्र राईले बताए । ‘यो एकै गाउँको मात्र समाधिस्थल होइन, थुप्रै गाउँको भएकाले भविष्यका लागि पनि जोगाउनुपर्ने भनेका हौं ।’

 

यस ठाउँमा यलम्बरको मूर्ति बनाउनुअघि गरेको सहमति उल्लंघन गर्दै एस्काभेटर लगाएर समाधिहरू ध्वस्त पारिएको भन्दै स्थानीय महेश राईले आपत्ति जनाए । ‘हामीले मूर्ति राख्नु हुन्न भनेको पनि होइन, तर सहमति अनुसार काम गर्नुको सट्टा उल्टै समाधि स्थल नै ध्वस्त पारियो,’ राईले भने ‘देखी-देखी हामी समाधि ध्वस्त पार्न कसरी दिन्छौँ ?’

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १४ बुइपाका वडाध्यक्ष दिनेश राईले भने सहमति गरेर काम अघि बढाउने बताएका छन् । सुरुमा गरिएको सहमति अनुसार काम नभएको स्वीकार्दै अब सच्याएर काम बढाउने राईको भनाइ छ । ‘सुरुमा गरेको सहमति अनुसार काम नभएकै हो, यसले उहाँहरूको भावनामा चोट पुगेको हो ।’ वडाध्यक्ष राईले भने ‘तर अब सच्याएर काम अघि बढाउने छौं ।’

 

वडाध्यक्ष राईका अनुसार उक्त समाधिस्थलमा भएका चिहानहरूको संयुक्त आत्माघर बनाउने, त्यहाँ भेटिएका पूरातात्विक वस्तुहरूलाई संग्रहालयमा राख्ने लगायतको सहमति थियो । तर निर्माण कम्पनीका ठेकेदार उमा तुवाचुङ अन्सुली जेभी सम्बद्ध सुनिल राईले आफू नहुँदा कामदारले संरचना भत्काएको बताए । तर अब त्यस्तो नहुने उनको प्रतिवद्धता छ ।

 

‘कामदारले वास्तै नगरी बाङ्बुङ पारेछ । अब सहमति अनुसार नै काम हुन्छ,’ राईले भने । त्यसो त उक्त निर्माणको ठेक्कामा किर्ते कागजात पेस गरेर ठेक्का पारेको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो । उक्त उजुरी तामेलीमा राखिएको जानकारीपछि गत कात्तिक ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले शीलान्यास गरी काम थालिएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए ।

 

उक्त ठेक्का असार २२ गते स्वीकृत गरी असार २८ गते सम्झौता भएको थियो। चैत २० गते सूचना जारीपछि नेसनल स्ट्रक्चर एन्ड इन्जिनियरिङ प्रालि जेभी, उमा तुवाचुङ अन्सुली जेजी, शाह ब्राइकल जेभी र टक्सार कालिका जेभीको टेन्डर परेको थियो । उमा तुवाचुङ अन्सुली जेभीले किर्ते कागज पेस गरी फुल रेटमा ठेक्का पारेको भन्दै अख्तियारमा उजुरीसमेत परेको हो । इकान्तिपुरबाट