ताप्लेजुङ । मानसिक समस्याका कारण घर छोडेर हिँड्न थालेपछि फक्ताङलुङ ४ इखावुका १९ वर्षीय सरोज काम्बाङ लिम्बूलाई घरमै बाँधेर राखिएको छ । समस्या देखिएपछि लिम्बूलाई सात महिनादेखि साङलोले बाँधेर राखिएको परिवारले बताएको छ ।
यसअघि उपचारका लागि झापा, भारतको सिलिगुडीका स्वास्थ्य संस्थामा पुर्याइए पनि केही समय ठीक हुने र फेरि समस्या ब्युँतिन थालेपछि वैशाखदेखि खुट्टामा साङलोले बाँधेर राखिएको सरोजका पिता फिपराजले बताए ।
‘छोड्यो भने अरूलाई आक्रमण गर्न खोज्ने, घर छोडेर हिँड्ने गर्न थाल्यो’, सरोजका दिदी रिता लिम्बूले भनिन्, ‘भीरपहरामा लड्छ कि, कसैलाई आक्रमण गर्छ कि भन्ने डर मात्रै भयो ।’ थप उपचारका लागि अस्पताल लैजान आर्थिक अवस्था मजबुत नभएकाले समस्या परेको रिताले बताइन् ।
‘पहिला पनि लाखौं रुपैयाँ सकियो’, उनले थपिन्, ‘हामी गाउँघरमा मेन्जो खेती किसानी गरी खानेले उपचार गर्न पनि गाह्रो रहेछ ।’ पहिला गरेको उपचारपछि केही सुधार भएकाले परिवारलाई उपचार गरे ठीक हुन्छ भन्ने आशाचाहिँ रहेछ ।
दुई वर्षअघि उनमा समस्या देखिन थालेको फिपराज बताउँछन् । पढाइ राम्रो हुँदाहुँदै समस्या देखिएको रिताले बताइन् । दुई भाइ र एक दिदीमध्येका कान्छाको उपचार गर्न नसकेकामा आमा गौमायालाई पीडा छ । ‘छोराछोरी बाँधेर राख्नुपर्दा साह्रो गाह्रो हुँदो रहेछ,’ उनले भनिन्, ‘खै उपचार गर्न लैजान पैसा छैन भन्छन् ।’
कांग्रेस जिल्ला कार्य समितिका पूर्वउपसभापति मणि लाबुङले सरोजको अवस्थाबारे फोटो, भिडियो खिचेर लगेको फिपराजले बताए । ‘आँखा पट्टीले बाँधेर गीत गाइरहेको थियो’, लाबुङले भने, ‘खुट्टा साङ्लोले बाँधेको रहेछ ।’ इकान्तिपुरबाट