दमक । जुवाको अखडा बनेको झापाको दमकबाट फेरि ९ जना जुवाडे पक्राउ परेका छन् ।

 

मंगलबार दिउँसो ३ः३० दमक ५ बस्ने टेकबहादुर कार्कीको घरको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा तीन बुङ तास र नगद २९ हजार ७ सय ४५ रुपैयाँसहित ती जुवाडे पक्राउ परेका थिए ।

 

पक्राउ पर्नेहरुमा घरधनी दमक ५ बस्ने ४६ वर्षीय टेकबहादुर कार्की, सोही ठाउँका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, २९ वर्षीय प्रदिप थापा, ४१ वर्षीय सूर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी र कमल ५ बस्ने ३० वर्षीय सुरेश सुब्बा रहेका छन् ।

 

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

यसअघि एक साताभित्र दमकबाट १२ जना जुवाडे पक्राउ परिसकेका छन् । नियमितजसो जुवाको खालबाट विभिन्न ठेगानाका व्यक्ति पक्राउ पर्न थालेपछि दमकलाई अहिले जुवाको अखडाको रुपमा लिन थालिएको छ ।