झापा । जुवाको अखडा बन्दै गएको समाचार प्रकाशित भएको एक साता नबित्दै झापाको दमक क्षेत्रबाट फेरि ७ जना जुवाडे पक्राउ परेका छन् ।

 

दमक नगर क्षेत्रमा पटक पटक गरि तीन साताको हाराहारीमा २८ जना पक्राउ परेका छन् । पछिल्लोपटक ७ जना जुवाडे नगद डेढ लाखसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रहरीका अनुसार दमक ६ स्थित फाल्गुनन्द चोकबाट आज साडे ४ बजेतिर परदेशी होटलबाट तास खेलिरहेका ७ जनालाई नगदसहित पक्राउ गरेको हो । होटल सञ्चालक पवन लिम्बूसहित ७ जना पक्राउ परेका हुन् ।

 

प्रहरीका अनुसार होटल सञ्चालक लिम्बूसहित दमक १ का भक्तिश्वर देवान, २ का प्रमोद देवान, ९ का रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का बबिन सुब्बा, इलाम चुलाचुली १ का रुपचन्द्र राई, मोरंग पथरीशनिश्चरे ९ का राजकुमार श्रेष्ठ रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार उनीहरुको साथबाट १ लाख ५७ हजार नगद र तीन बुक तास फेला परेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।