अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीले सबै प्रकारका भ्रष्टाचारविरुद्ध ‘जनता जागौँ राष्ट्रिय अभियान’ पूर्वबाट सुरु गरेको छ । अभियान झापा र ताप्लेजुङबाट सुरु गरिएको पार्टीले जनाएको छ ।

 

पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले पार्टी आर्थिकमात्र नभएर सबै किसिमका भ्रष्टाचारविरुद्ध लाग्ने बताउँदै मंगलबार झापादेखि अभियान सुरु गरिएको बताए । पार्टीले देशव्यापीरुपमा सञ्चालन गर्न लागेको अभियानबारे जानकारी दिन झापाको अर्जुनधारामा आयोजित पत्रकार भेटघाट आयोजना गरिएको थियो ।

 

भ्रष्टाचार आर्थिकमात्र नभएर बौद्धिक, नैतिक, नीतिगत, सामाजिक लगायत हुने भन्दै उक्त अभियानको मुख्य उद्धेश्य सिंहदरबारदेखि वडा समितिसम्म पुगेको भ्रष्टाचारविरुद्ध जनतालाई सचेतना जगाउनु रहेको अध्यक्ष पालुङवाले दाबी गरे ।

 

अभियानमार्फत् मुलुकमा आएका असमान सन्धि सम्झौता, स्वास्थ्य, मुलुकलाई आवश्यक अर्थनीति, संगठन सुदृढीकरण, अभिलेखिकरण र सदस्यता विस्तारलगायतका विषयमा गोष्ठी, अन्तरक्रिया, सभा, सम्मेलन गरी जानकारी गराइने उनले बताए ।

 

सबै शिक्षक संगठनहरु, ट्रेड युनियनहरु राजनीतिकसँग जोडिने भएकाले विशुद्ध बनाउन खारेज गरिनुपर्ने विचार राख्दै यस्ता संगठनहरु व्यावसायिक हुनुपर्नेमा जोड दिए । उनले आइएनजिओहरु पनि बन्द गरिनुपर्ने पार्टीको माग रहेको धारणा सुनाए ।

 

आगामी फागुन २१ गते सम्म सञ्चालन हुने अभियानको समापन काठमाण्डौंमा शक्ति प्रदर्शनसहित गरिने बताइएको छ । सोही भेटघाट कार्यक्रममा पार्टीको राजनीतिक दस्तावेज घोषणा पत्र पनि सार्वजनिक गरिएको थियो ।

 

खुला अर्थ नीतिले मुलुक नचल्ने भन्दै प्रतिस्पर्धात्मक ३ खम्बे अर्थ नीतिको आवश्यकता जोड दिँदै उनले अर्काको देशमा श्रम गर्न जान बाध्य पार्ने अर्थ नीतिको अन्त्य गर्न पनि माग गरेका छन् ।

 

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन धिमाल, महासचिव पदम जवेगु, उपमहासचिव विष्णु थाम्देन, सचिव गजेन्द्र आङबुहाङ, संघीय परिषद् सदस्य मीना पन्धाक, अर्जुनधारा नगर अध्यक्ष राज खम्बूलगायतको उपस्थिति रहेको थियो । किरात लिम्बुवान खम्बुवान प्रदेश परिचालन समिति प्रदेश नं १ का अध्यक्ष पर्शुराम मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव कृष्णकुमार थेवेले गरेका थिए ।