बिर्तामोड । झापाको कमल ३ मा सानो केर्खामा बिहीबार राति करिब ११ बजे उत्तरतर्फको जंगलबाट निस्किएको जंगली हात्ती धपाउन राजमार्गमा निस्किएको समूहका ५ जना घाइते भएका छन् ।

 

मध्यरातमा जंगलबाट निस्किएको हात्ती धपाउन खोज्ने क्रममा एउटै मोटसाइकलको ठक्करबाट उनीहरु घाइते भएका हुन् । दुर्घटनामा परि मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।

 

पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको प्र. ३-०२-०१४प ७३५१ नम्बरको मोटरसाइकलले सोही ठाउँमा जङ्गलबाट निस्किएको हात्ती धपाउन निस्केका कमल गाउँपालिका वडा नं ३ की ३४ वर्षीया सीता भट्टराई, २२ वर्षीय विक्रम गिरी, २० वर्षीय सुगम भण्डारी र ५० वर्षीय डिल्लीराज रायमाझीलाई ठक्कर दिँदा घाइते भएका थिए ।

 

उनीहरुको दमकस्थित आम्दा र लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी १ का २५ वर्षीय सागर गड्तौला गम्भीर घाइते भएका छन् भने पछाडि सवार सोही ठाउँका विकेश माझी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

 

उनीहरु दुवै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।