झापा । बढ्दो कोरोना संक्रमणका कारण यस वर्षको कन्काई माई मेला नलाग्ने भएको छ ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेपछि माई मेला स्थगित गरिएको हो । आज दिउँसो कनकाई नगरपालिकामा बसेको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त बैठकले माई मेला नलगाउने निर्णय गरेको हो ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयलाई आधार मानेर बढ्दो कोरोना संक्रमणका कारण माई मेला नलगाउने निर्णय गरिएको बैठकमा सहभागी इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।
बैठकमा कनकाई नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, शिवसताक्षी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको थियो । कनकाई नदीको पूर्वपट्टी कनकाई नगरपालिका र पश्चिमपट्टि शिवसताक्षी नगरपालिकाले मेला लगाउने गरेका छन् ।
शिवसताक्षी नगरपालिकाले मेला ठेक्का लगाउनका लागि सम्झौता गर्न लागेको थियो भने कनकाई नगरपालिकाको मेला ठेक्का लाग्न बाँकी रहेको थियो ।