पाँचथर । मानसिक समस्या देखिएर समयमै उपचार नपाउँदा खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका ४ चिलिङदेनकी ३५ वर्षीय नन्दकुमारी नेम्वाङको उद्धारसँगै उपचार र पुनःस्थापनाको जिम्मा राष्ट्रिय महिला आयोगले लिएको हो ।

 

नन्दकुमारीको अवस्थाका विषयमा कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनमा समाचार आएपछि आयोगले उनको उद्धार र उपचारमा चासो देखाएको हो ।

 

बिरामी परेकी नन्दकुमारीलाई धामीझाँक्री र फेदाङ्मा बोलाएर झारफुक गराउँदा निको नभएपछि ६ वर्षदेखि घर अगाडि छाप्रोमा खोर बनाएर राखिएको समाचार पुस २० गते प्रकाशन भएको थियो । त्यसलगत्तै राष्ट्रिय महिला आयोगले उनको उद्धारसँगै उपचारको पहल थालेको हो ।

 

आयोगले पुस २७ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र फाल्गुनन्द गाउँपालिकालाई पत्र लेख्दै नन्दकुमारीका उद्धार र उपचारसँगै निको भएपछि परिवारमा पुनःस्थापनासम्मको जिम्मेवारीको प्रतिबद्धता जनाउँदै समन्वय गरी काठमाडौं पठाउने वातावरण बनाउन भनेको छ ।

 

स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक अधिकार भनिए पनि गरिबीकै कारण मानसिक सन्तुलन गुमेकी महिलाले खोरमा थुनिनु परेको समाचारले ध्यानाकर्षण गराएको आयोगकी सदस्य तथा एक नम्बर प्रदेश संयोजक कृष्णकुमारी खतिवडाले बताइन् । खतिवडाकै पहलमा नन्दकुमारीको उद्धारका लागि पहल सुरु भएको हो ।

 

उनलाई उपचारका लागि पठाउन परिवारका सदस्य पनि मञ्जुर भएका छन् । ‘दिदीको उद्धार र उपचारमा चासो दिने सबैलाई धन्यवाद । अब उनी निको भएर फर्किने आश पलायो’, भाइ सन्तोष नेम्वाङले भने ।

 

आर्थिक अवस्था कमजोर रहनुका साथै आफन्त र परिवारका सदस्य टाढा रहँदा उनको उपचार र उद्धार हुन सकेको थिएन । इकान्तिपुरबाट