काठमाडौँ । नेपालमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्ने क्रममा छ । आइतबार १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा तीन हजार ५४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत माघ ६ गते २७ हजार ४९७ को परीक्षण गर्दा नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएयताकै सबैभन्दा धेरै १२ हजार ३३८ जनामा पुष्टि भएको थियो । मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा माघ ६ गतेदेखि कोरोना सङ्क्रमितको ग्राफ ओरालो लागेको देखिन्छ । माघ १२ गते अर्थात् बुधबार कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ४५४ थियो ।
बिहीबार ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भयो । सङ्क्रमितको सङ्ख्या घट्दै १४ गते ६ हजार ८२७ पुग्यो । क्रमशः १५ गते ४ हजार ९०४ र १६ गते सङ्क्रमितको सङ्ख्या घटेर ३ हजार ५४० पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा पहिलो पटक नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको थियो । त्यसपछि यो भेरियन्ट विश्वभर तीव्र रूपमा फैलियो । नेपालमा पुस १९ गते पहिलो पटक तीन जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो । सरकारले ओमिक्रोन भेरियन्ट नेपालमा देखिएको जानकारी दिँदा दैनिक करिब २ सयको आसपासमा सङ्क्रमण पुष्टि भइरहेको थियो ।
ओमिक्रोन पुष्टि भएसँगै पुस २१ गतेदेखि कोरोना सङ्क्रमितको ग्राफ क्रमशः उकालो लाग्दै गयो । स्वास्थ्य मन्त्रालयले सङ्क्रमण पुष्टि भएकामध्ये ८८ प्रतिशत ओमिक्रोनबाट सङ्क्रमित भएको बताइसकेको छ ।
परीक्षण दर पनि घट्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै तथ्याङ्कअनुसार माघ १० गते २१ हजार २ सय १ कोरोना परीक्षण गरिएको थियो । यस्तै, ११ गते अर्थात् मंगलबार २५ हजार ९ सय ९ परीक्षण गरिएको थियो । बुधबार २० हजार ३ सय ५९ जनामा पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार २१ हजार ८ सय ८ परीक्षण गरिएको थियो ।
क्रमशः शुक्रबार १९ हजार ८ सय ६९, शनिबार १४ हजार ५ सय ६२, आइतबार १३ हजार १ सय ४५ ले परीक्षण गराएको थिए । स्वास्थ्य मन्त्रालयबाट सूचीकृत नभएका प्रयोगशालाहरूबाट पनि कोरोना परीक्षण हुने गरेको जनाएको छ । कोरोना परीक्षण गरिएका तथ्याङ्कहरू सरकारलाई पठाउन मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौसल मिश्राले बताइन् ।
कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न परीक्षण गर्नेहरुको आँकडा आवश्यक पर्ने भएकाले सबै संघ संस्थालाई आग्रह गरेकी छन् । यस्तै, घरमा आफैले एन्टिजेन विधिबाट गरेका परीक्षणको जानकारी समेत पठाउन उनले आग्रह गरिन् । रातोपाटीबाट