बिर्तामोड । अर्जुनधारा १ का वडाध्यक्ष गजाधर कुटिएपछि आवश्यक कारबाहीका लागि दिइएको उजुरी इलाका प्रहरी कार्यालय अनारमनीले दर्ता नगरेपछि जनप्रतिनिधिले दबाब दिन थालेका छन् ।
वडाध्यक्ष खनाललाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै दिएको उजुरी बिर्तामोड प्रहरीले ६ दिन वितिसक्दा पनि दर्ता गरेको छैन । वडाध्यक्ष खतिवडाले माघ १२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए । उनले आफूमाथि कुटपिटमा संलग्न सोही वडाका कांग्रेस सभापति उपेन्द्र बस्नेत र उनैको घरमा काम गर्न बसेका होम अधिकारीविरुद्ध उजुरी दिएका हुन् ।
बस्नेतकै कारण अधिकारीले कुटपिट गरेको आरोप लगाउँदै वडाध्यक्ष खतिवडाले दुवैलाई कारबाहीको माग गरेका छन् । नदीजन्य सामग्रीको उत्खनन् का विषयमा माघ ११ गते कुटपिट भएको थियो । वडाध्यक्ष खतिवडाले भने, ‘१२ गते उजुरी दिएको हुँ । अहिलेसम्म दर्ता नहुँदा अचम्मित भएको छु ।’
उजुरी दर्ता नभएपछि सोमबार संविधानसभाका सदस्य प्रेम गिरी, प्रदेश सांसद् विर्ख प्रधान, अर्जुनधाराका मेयर हरि राना र १० नम्बर वडाध्यक्ष तथा नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देनले बिर्तामोड प्रहरी कार्यालय पुगेर घटनाबारे सोधीखोजी गरे । जनप्रतिनिधिले उजुरी दिदाँ समेत दर्ता नभएपछि उनीहरु प्रहरी कार्यालय पुगेका हुन् ।
अर्जुनधाराका मेयर रानाले प्रहरीलाई उजुरी दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने बताएको प्रमुख रानाको भनाई छ । सो उजुरीमा कांग्रेसका वडा सभापति बस्नेतको समेत नाम संलग्न भएकाले प्रहरीले उजुरी दर्ता नगरेको बुझिएको छ ।
बस्नेतले कुटपिट नगरेको भन्दै प्रहरीमा दवाव बढेकाले उजुरी दर्ता गरिएको छैन । कुटपिट गर्ने व्यक्ति बाहेकको समेत नाम जोडिएकोले प्रहरीले उजुरी दर्तामा ढिलाई गरेको बुझिएको छ । उजुरी दर्ताका लागि मुद्धा शाखा स्वतन्त्र भएको प्रहरी बताउँछन् ।
घटनामा संलग्न नभएको व्यक्तिको नाममा उजुरी दर्ता गर्न कठिनाइ भएको हुनसक्छ, झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले भने, ‘मुद्धा दर्ता हुनैपर्छ । मुद्धा दर्ता नहुने कुरै भएन ।’