विराटनगर । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ३ र कोसी गाउँपालिका १ को सीमानामा रहेको खुनिया पुलमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकै पहिचान खुलेको छ।

 

दुर्घटनामा परेर झापाको हल्दिबारी गाउँपालिका १ गोलधापका ४५ वर्षीय सरोज राई, भारत पश्चिम बंगाल बस्ने २५ वर्षीय निहाल प्रधान र बाराको निजगढ ९ का २७ वर्षीय शेख फिरोजको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकमध्ये राई बस चालक, प्रधान बसका यात्रु र फिरोज ट्रकका चालक हुन्।

 

झापाको काँकडभिट्टाबाट यात्रु लिएर काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको सिमेन्ट लोड गरिएको ना ५ ख २९९६ नम्बरको ट्रक शुक्रबार साँझ ७स्३५ बजेतिर ठोक्किएर भयानक दुर्घटना भएको थियो। दुर्घटनामा परेर तीनै जना सवारीसाधनभित्रै च्यापिएका थिए।

 

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार दुर्घटनाको केहीबेरमै दुवै सवारीसाधनमा आगलागी सुरु भएपछि उद्धार गर्न नसक्दा उनीहरुको मृत्यु भएको हो। दुर्घटनापछि सवारीसाधनभित्रै च्यापिएका उनीहरुको आगोले जलेर बस र ट्रकभित्रै मृत्यु भएको जानकारी खतिवडाले दिए।

 

दुर्घटनामा ट्रकका सहचालक बारा निजगढ ९ का ४३ वर्षीय दीपक श्रेष्ठसहित बसमा यात्रा गरिरहेका २७ जना घाइते भएका थिए। बसको सिसा फुटाएर घाइतेहरुको उद्धार गरिएको थियो। गम्भीर अवस्थाका तीन जनासहित सबै घाइतेको उपचार सुनसरी र मोरङका विभिन्न अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार केही घाइतेहरु उपचारपछि घर फर्किएका छन्। अन्नपूर्ण पोष्टबाट