झापा । मेचीनगर ५ पिपल डाँडा चौक बस्ने ६८ वर्षीया अम्बिका कुँवरको हत्याको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर ५ बस्ने २७ वर्षीय रणबहादुर बस्नेत रहेका छन् ।

 

बुधबार दिउँसो ४ बजे कुँवर घरबाट घाँस काट्न जान्छु भनी हिँडेकोमा साँझसम्म पनि घर फर्की नआएपछि खोजतलास गर्दै जाँदा साँझ ७ः४५ बजे उनका श्रीमान जगत कुँवरले घरदेखि २०० मिटर पश्चिम दक्षिणमा लिलाराज देबकोटाको बाझो खेतमा मृत अवस्थामा देखेर सीमा प्रहरी चौकी नकलबन्दामा जानकारी गराएका थिए ।

 

उक्त चौकीबाट प्रहरी नायव निरीक्षकको टोलीले घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बिश्वमणी पोखरेल र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षक सुनिल दाहालसहितको टोली खटिगएको साथै संघीय प्रहरी ईकाई धरान डग शाखाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली र २ वटा कुकुरसहित परिचालन गरिएको थियो ।

 

घटनाको अनुसन्धानको क्रममा बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । उनले मृतकको लाशको कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि स्वास्थ्य बिधि बिज्ञान प्रगोगशाला धरान पठाइएको जानकारी दिए ।