इलाम/ किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिम र पूर्व केन्द्रीय सदस्य मनराज जवेगू सम्मानित भएका छन् ।

इलाम नगर महिला समन्वय समितिका अध्यक्षमा मनोनित थेगिम र नगर आदिवासी जनजाति समन्वय समितिका अध्यक्षमा मनोनित मनराज जवेगूलाई किरात याक्थुङ चुम्लुङ इलामले बधाई, शुभकामना र सम्मान गरेको हो ।

शनिबार चुम्लुङको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्षद्वय थेगिम र लिम्बूलाई सिलामसाक्मा र खादा ओढाएर सम्मान गरेको हो ।
चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, केन्द्रीय सदस्य विष्णू लिम्बू, जिल्ला सल्लाहकार बखतबहादुर आङदेम्बेसहित जिल्ला शखाका पदाधिकारी र सदस्यले सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले नगरभित्र वहिष्करणमा पारिएका, विपन्न आदिवासी जनजाति र विपन्न महिलाहरुको हक, हित तथा अधिकार संरक्षण, सम्बद्र्धन एवम् प्रत्याभूत गरी आदिवासी जनजाति र महिलालाई राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक, शैक्षिक लगायत समग्र क्षेत्रमा पहिचान, प्रतिनिधित्व र पहुँच अभिवृद्धि गर्दै मूलप्रवाहमा समावेश गर्नेगरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै अध्यक्षद्वय थेगिम र जवेगूले नगर क्षेत्रमा महिला र आदिवासी जनजातिको क्षेत्रमा सबैपक्षसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए । यस क्रममा किरात याक्थुङ चुम्लुङसँग समेत आवश्यक समन्वय र सहकार्य गर्ने बताए ।

थेगिम भर्खरै इलाम नगरपालिकाद्वारा नगर महिला समन्वय समितिको अध्यक्षमा र जवेगू नगर आदिवासी जनजाति समन्वय समितिको अध्यक्षमा मनोनित भएका हुन् । इलाम नगरपालिकाले ५ फागुन २०७५ मा छुट्छुट्टै रुपमा नगर महिला र नगर आदिवासी जनजाति समन्वय समिति सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरी थेगिम र जवेगूलाई अध्यक्षमा मनोनित गरेको हो । समितिको कार्यकाल ३ वर्षको रहनेछ ।

इलाम नगरपालिका ६ बालगाउँका थेगिम महिला अधिकारकर्मी समेत हुन् । उनी जिल्लाको मानव अधिकार मञ्च नेपालमा समेत कार्यरत छन् । इलाम नगरपालिका ५ बरबोटेका थेगिम लामो समयदेखि आदिवासी जनजातिकव क्षेत्रमा क्रियाशील छन् ।

उनी किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य समेत भइसकेका छन् । यसअघि तत्कालिन जिल्ला विकास समिति इलाममा आदिवासी जनजाति समन्वय समितिका उपाध्यक्ष समेत भएर काम गरेका थिए ।