अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा सोमबार एक कार्यक्रमका बीच सिद्धसिंहको दुई वटा मूर्ति प्रतिस्थापन गरिएको छ ।
धाम उत्पत्तिकर्ता विकास राईद्वारा विधिपूर्वक पूजाअर्चना गरि प्रतिस्थापन गरिएको उक्त मूर्तिको संयुक्तरुपमा नगर कार्यपालिका सदस्य बलदेवसिंह गोम्देन र धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर “काली’ले उद्घाटन गरेका थिए ।
कमल गाँउपालिका ५ स्थित गोलसिमल मूर्तिशालामा ढुंगाबाट निर्माण गरिएको दुवै मूर्तिको तौल अनुमानित तीन क्विन्टल रहेको छ । दाताहरुको सहयोगमा निर्माण गरिएको उक्त मूर्तिको जम्मा लागत दुई लाख रुपैयाँ रहेको समितिका अध्यक्ष मगरले जानकारी दिए ।
मूर्ति निर्माण गर्न अर्जुनधारा ८ निवासी फौदी शाहबाट ५० हजार रुपैयाँ, अर्जुनधारा ४ स्थित ब्राइट बिग्निङ एकाडेमीकी सञ्चालक जीना ओलीबाट ११ हजार रुपैयाँ, समितिका अध्यक्ष मगर र सदस्य निरु बाँस्तोलाबाट १०–१० हजार रुपैयाँ, मेचीनगरस्थित काँकडभिट्टा निवासी राज गिरीबाट १० हजार रुपैयाँ, धाम उत्पत्तिकर्ता राईबाट चार हजार पाँच सय रुपैयाँ र अर्जुनधारा ७ निवासी रञ्जु राईबाट चार हजार पाँच सय रुपैयाँ रकम प्राप्त भएको थियो ।
जम्मा लागत दुई लाख रुपैयाँमध्ये बाँकी एक लाख रुपैयाँ गोलसिमल मूर्तिशालाका सञ्चालक भक्त राईबाट समितिलाई छुट भएको बताइएको छ । दाताहरुलाई सोही कार्यक्रममा धामको तस्वीर प्रदान गरि सम्मानित गरिएको थियो ।
मूर्ति स्थापना अघि मूर्तिशालादेखि धामस्थलसम्म धाम संरक्षण समितिको आयोजनामा नौमति बाजा, पञ्चकन्यासहितको ¥याली सञ्चालन गरिएको थियो ।