झापा । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार तीन प्रतिवादी पक्राउ परेका छन् । सर्वोच्च अदालतको २०७४ असार २८ गतेको फैसला अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सजाय ठहरिएर फरार भएकाहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई बुधबार फैसला कार्यान्वयनको झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं ४ बस्ने ४४ वर्षीया सीता केरुङ सम्बाहाम्फे रहेकी छन् । उनलाई सात बर्ष ६ महिना कैद, एक लाख जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय तोकिएको थियो ।
त्यस्तै पक्राउ पर्ने अर्का फरार प्रतिवादी सोही ठाउँका ५० वर्षीय ईन्द्र सम्बाहाम्फे पनि रहेका छन् । उनलाई पनि सात वर्ष ६ महिना कैद, एक लाख जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय तोकिएको थियो ।
त्यसैगरी सोही मुद्धामा फरार कमल ४ कै ४३ वर्षीय हंशराज केरुङ पनि पक्राउ परेका छन् । उनलाई पनि समान सजाय तोकिएको थियो ।