झापा । पूर्वी नाका मेचीनगर १० स्थित धुलाबारीबाट प्रतिबन्धित ब्राउन सुगरसहित स्थानीय आमाछोरा पक्राउ परेका छन् । प्रहरीको संयुक्त टोलीले उनीहरुको साथबाट ९ ग्रामभन्दा बढी ब्राउनसगुर र गाँजा पनि बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारी, काँकरभिट्टा र लागूऔषध व्यूरो काँकरभिट्टाको संयुक्त टोलीले स्थानीय मैनी खातुनको घरमा छापा मार्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खातुनको घरबाट ब्राउन सुगरसहित २४ ग्राम गाँजा, नगद ५ हजार ९६०, ९ थान मोबाइल, एक थान डिजिटल तराजु पनि बरामद गरेको जिप्रका झापाका प्रवक्ता वसन्त थापाले बताए ।
उनका अनुसार हिजो मंगलबार खातुनको घरमा शंका लागी चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । अनुसन्धानका क्रममा ४५ वर्षीया खातुनकै छोरा लागूऔषध कारोबारमा संलग्न भेटिएपछि महबुब आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ दुवै जनालाई झापा जिल्ला अदालतबाट आजै आमालाई ८ दिन र छोरालाई ७ दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय धुलाबारीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।