बिर्तामोड । झापा अर्जुनधारा १ स्थित सिस्नेका समाजसेवी तथा पार्टी कार्यकर्ता नरेन्द्र अधिकारीको टिपरको ठक्करबाट मृत्यु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा १ का अध्यक्ष एवम् राप्रपा झापा सांस्कृतिक विभाग प्रमुख अधिकारीको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

 

टिपरको ठक्करबाट घाइते भएका ४५ वर्षीय अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । चैत २७ गते दिउँसो २ः१५ बजेको समयमा अर्जुनधारा ८ शनिश्चरे बजारस्थित भित्री पक्की सडकखण्डमा दुर्घटना भएकाे थियाे ।

 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना. ७ ख १९०० नम्बरको खाली टिपर र सोही दिशातर्फ जाँदै गरेको प्र. १-०१-०१४ प ९४४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किइ दुर्घटना हुँदा मोटरसाइकल चालक अधिकारी घाइते भएका थिए । घाइतेको उपचारका क्रममा हिजो दिउँसो ३ः२० बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

 

 

दुर्घटनापछि दुबै सवारी साधन र टिपर चालक अर्जुनधारा ४ का ४३ वर्षीय सूर्यनारायण चौधरीलाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।