झापा । चुनावी गठबन्धनका लागि झापामा नेपाली कांग्रेस र नेकपा माओवादीले भागबन्डा टुंग्याएका छन् । बीचमा भाँडिने अवस्थामा पुगेका झापाका गठबन्धन दलहरु फेरि सहमति नजिक पुगेका हुन् ।
चारदलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादीबीच भागबन्डाको विषयमा बढी विमति रहेको थियो । त्यसलाई करिब करिब सहमतिमा ल्याइएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए ।
गएराति ११ बजेसम्म गठबन्धन दलको बैठक चलेको थियो । कांग्रेस र माओवादीबीच भागबन्डा नमिलेका विषयमा थप छलफल गर्नुपर्ने भएपछि अलग्गै बसेर सहमति गरिएको हुमागाईले जानकारी दिए । बैठकमा सत्तारुढ गठबन्धन दलको झापा जिल्ला कार्यदलको संयोजकको रुपमा कांग्रेसले हालसम्मको प्रगति प्रतिवेदन संयुक्त बैठकमा बुझाएको थियो ।
कांग्रेस र माओवादीबीच सहमति भइसकेपछि नेकपा एस र जनता समाजवादी पार्टीसंग आज बसेर टुंगो लगाइने भएको छ । नेकपा एस र जसपाको खासै ठूलो माग नरहेको बताइएको छ । ती दुईवटा पार्टीलाई एउटा गाउँपालिका र एउटा नगरपालिका उपप्रमुख दिनेगरी छलफल अगाडि बढेको हुमागाईले बताए ।
बैठकमा सहभागी कांग्रेसका जिल्ला सभापति देउमान थेबेले पूर्णरुपमा नभए पनि आंशिकरुपमा सहमति भएको बताए । उनले भोलिसम्ममा सहमति सार्वजनिक गरिने जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज सीपी कडरियाले बीचमा बढेको दूरीलाई गठबन्धन दलबीच साँघुरिदै लगिएको बताए । उनले आज भागबन्डाको विषय टुंगिने संभावना रहेको जानकारी दिएका छन् ।