झापा । झापाका १५वटै पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो नेकपा एमालेले लगाएको छ । जसअनुसार अर्जुनधारा नगरपालिकाबाट बलदेव गोम्देन नगर प्रमुखको उम्मेदवार भएका छन् । उनी हालको १० नम्बर निर्वाचित वडाध्यक्ष हुन् भने नेकपा एमाले अर्जुनधारा नगर कमिटीका अध्यक्ष पनि हुन् ।

 

पार्टीका अनुसार अर्जुनधारा नगरपालिकाको उपमेयर पदमा खड्गमाया पराजुलीको नाम पार्टीले सिफारिस गरेको छ । उनी वडा नं. २ की वर्तमान सदस्य हुन् । यस्तै, उनी न्यायिक समितिकी सदस्य पनि हुन् ।

 

जसअनुसार बिर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतारा प्रसाई र उपमेयरमा नगेन्द्रप्रसाद संग्रौला, भद्रपुरमा मेयरमा असारु राजवंशी र उपमेयरमा कौशिला अधिकारी, गौरादहमा मेयरमा छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंशी चौधरी, कनकाईमा मेयरमा राजेन्द्रकुमार पोखरेल र उपमेयरमा मन्जु प्रसाई, गौरीगञ्जमा अध्यक्षमा विजय अग्रवाल र उपाध्यक्षमा पुजन न्यौपाने कुँवरलाई पार्टीले सिफारिस गरेको छ ।

 

 

यस्तै, शिवसताक्षी नगरपालिकामा मेयरमा रोशन थोप्रा र उपमेयरमा नरमाया कार्की, कमलमा अध्यक्ष भीम राई र उपाध्यक्षमा उषा भण्डारी सिटौला, बाह्रदशीमा अध्यक्ष देविन्द्रप्रसाद चौलागाई र उपाध्यक्षमा शान्ता खरेल, झापा गाउँपालिकामा अध्यक्ष गौरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया कोइराला, बुद्धशान्तिमा अध्यक्ष मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल, हल्दिबारीमा अध्यक्ष डम्बरबहादुर गिरी र उपाध्यक्षमा शान्ता गौतम, दमकमा मेयर गीता अधिकारी र उपमेयर अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।

 

त्यस्तै मेचीनगरमा प्रमुख र उपप्रमुखमा कसलाई उम्मेदवार बनाउने भनेर छलफल चलिरहेको बताइए पनि मेयरमा मीना उप्रेतीलाई दिने निर्णय भएको जनाइएको छ । कचनकवलमा भने कांग्रेससंग गठबन्धन गर्ने गरी उपाध्यक्षमा नवराज भट्टराईलाई उठाउने निर्णय भएको छ ।